सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ ।
महरासँगको बयान सकिएकोले हाजिरी जमानीमा छाड्ने तयारी भएको सीआईबी स्रोतले लोकान्तरलाई जानकारी दियो । महरासँग सीआइबी र सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै बयान लिएका थिए ।
सीआईबीका प्रवक्ता होबिन्द बोगटीले महरालाई हाजिरी जमानीमा छाड्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले दोषी देखाएपछि महरालाई चैत्र ५ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही दिन अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो ।
प्रहरीसँगको बयानमा महराले आफू सुन तस्करीमा संलग्न नभएको बताएका थिए । ‘नखाएको विष लागेको’ भन्दै बयानका क्रममा महरा पटक पटक भक्कानिएका थिए ।