
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।
महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएको थियो ।
महरालाई गत सोमवार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान शुरू गरिएको थियो ।
सुनको अवैध तस्करी एवं नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।