३० जेठ २०८३, शनिबार

होली विशेष सुरक्षा : उपत्यका प्रवेश गर्ने सबै नाकासहित ठाउँठाउँमा चेकजाँच, ​ड्रोनबाट निगरानी

चैत ११, २०८०
काठमाडौं
होली विशेष सुरक्षा : उपत्यका प्रवेश गर्ने सबै नाकासहित ठाउँठाउँमा चेकजाँच, ​ड्रोनबाट निगरानी

नेपाल प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ ।

यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौं उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

उनले भने, 'सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ ।'

होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ ।

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो-हल्ला गर्न, झै-झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताए ।

उनले भने, 'काठमाडौं, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ-ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ ।'

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन् ।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंले फागुपर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

होली पर्वलाई सुरक्षित, मर्यादित बनाउन काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, 'हामीले सव्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौं, कानून विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारवाही गरिने छ ।'​

यस वर्षको होली पर्वका लागि उपत्यकामा मात्रै दुई हजार पाँचसय पोशाकधारी तथा पाँच सय जना सादा पोशाकमा गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

होली पर्वमा काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी सवारी चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसित बनाउनेलाई कडा कारबाही गरिने भन्दै प्रहरीले अहिले ठाउँ-ठाउँमा माइकिङसमेत गरिरहेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार आज दिउँसो १२ बजेसम्म उपत्यकामा होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएका छैनन् ।

उनले भने, 'होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएको खबर आएका छैनन्, घटना हुन नदिन प्रहरी निकै चनाखो छ ।'

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए ।

उनले भने, 'शान्त वातावरणमा होली मनाउन सबैमा आग्रह गरेका छौं, होलीमा हुने सबैखाले गतिविधिहरू बिहानैदेखि ड्रोनबाट पनि निगरानी बढाइएको छ ।'

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईका क्षेत्रमा भोलि होली पर्व मनाइँदैछ । यसवर्ष काठमाडौंमा मर्यादित रुपमा होली मनाइरहेको देखिएको छ ।

युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन् । उनीहरू एक-आपसमा रङ र अवर साटासाट गरी रमाइलो गरिरहेका छन् । तर विगतका वर्षमा जस्तो जवरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन् ।​​

होली पर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरू बढाउने, माइकिङ गरी आ-आफै पर्व मनाउन र कसैलाई जवरजस्ती नगर्न आग्रह गरिरहेको छ ।

त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्