
सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गर्दै गोष्ठी प्रस्तुतिमा आएका सुझावलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न÷गराउन सहमत भई प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।
प्रतिबद्धतापत्रमा वडाअध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू गीता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा वडाभित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् ।
प्रतिबद्धतामा वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने उल्लेख छ ।