
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएको पार्टीका अध्यक्षले आफूलाई प्रश्नभन्दा माथि राख्न खोजेको टिप्पणी गरेका छन् । बरु कांग्रेसमा नेतृत्वमाथि प्रश्न गर्न पाइने अवस्था रहेको उनको भनाइ छ ।
बिहीबार पश्चिम नवलपरासीमा संवाद यात्राका क्रममा महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रश्नभन्दा माथि रहेको सभापतिले ठगे पनि छुट पाइरहेको बताएका हुन् ।
‘एमाले कस्तो पार्टी बन्यो भने अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको नेता आलोचनाभन्दा माथि । यसरी पनि पार्टी चलिरहेका छन्,’ थापाले भने, ‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ । अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’
महामन्त्री थापाले कार्यकर्तालाई केन्द्र सरकारको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै केही समयमा फेरि सरकार चलाउने बताए । महामन्त्री थापाले हुलाकी राजमार्ग केन्द्रित संवाद यात्रा शुरू गरेका हुन् ।