
भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चालेका छन् ।
डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।
घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुन् र इक्वेडरका अधिकारीहरूले अहिले पनि उनीविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो ।
“यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भने, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”
आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भने, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”
मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काए ।
मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताए ।