
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शुरू गरेको प्रदर्शनका क्रममा प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
प्रदर्शनका क्रममा मंगलवार निषेधित क्षेत्र तोड्न खोजेपछि उनी भद्रकालीबाट पक्राउ परेका हुन् ।
पक्राउ परेको केहीबेरमा उनलाई छोडिएको छ ।
४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरू भएको राप्रपाको जुलुस सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि झडप भएको हो ।
जुलुसले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।
राप्रपाको जुलुस लक्षित ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलवार काठमाडौंकेन्द्रित जनप्रदर्शनको आयोजना गरेको हो ।