प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त ग¥यो । उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त ग¥यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गरे ।
उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट भइन् भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल भए । फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।
सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेलिन् । लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाए ।
बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेलिन् ।