
चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार पढ्न सजिलो बनाउन एउटा नयाँ सुविधा शुरू गरेको छ । हाम्रो पात्रोले पहिलो पटक महत्त्वपूर्ण समाचारलाई विश्लेषण र वर्गीकरण गरी सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो ।
हाम्रो पात्रोले गत हप्तादेखि नै एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर, ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।
बुलेटिन हरेक तीन घण्टा अपडेट हुने र प्रयोगकर्ताले सधैं ताजा समाचार हेर्न पाउने पात्रो इंकले जनाएको छ । विशेष गरी समाचार पढ्न समय नभएको तर, समाचारसँग चासो राख्ने पाठकहरूका लागि यो सुविधा ल्याएको हो ।
एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबीसमेत गरिएको छ ।