
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले मेयर भएको अवधिमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
थापा प्रमुखको रूपमा कार्यरत रहेको अवधि (२०७४/०६/०७ गतेदेखि २०७९/१०/२९)मा सात करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी देखिएकोमा १३ करोड २० लाख तीन हजार ३९१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो कायमगरी कैद तथा जरिवानाको सजाय साथै सम्पत्ति जफत/असुल उपर हुन मागदाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।
उनीसँगै उनकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारीका राउतविरुद्ध पनि मुद्दा दायर गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्रै उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।