३१ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

गण्डकीका मुख्यमन्त्रीलाई झट्का, कोशीमा विशेष अधिवेशन आह्वान

चैत २९, २०८०
काठमाडौं
गण्डकीका मुख्यमन्त्रीलाई झट्का, कोशीमा विशेष अधिवेशन आह्वान

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले शपथ लिएकी छिन् । उनलाई अध्यक्ष नारायणप्रसाद दाहालले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधवार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

उपाध्यक्ष घिमिरेले बुधवार नै सिंहदरबारस्थित कार्यकक्षमा पद बहाली गरेकी छिन् । नेकपा एमालेकी सांसद घिमिरे यसअघि बुधवार दिउँसो राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उर्मिला अर्यालले राजीनामा दिएपछि भएको उपाध्यक्षको निर्वाचनमा उनी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी बनेकी हुन् ।
००००
नेपाली कांग्रेस र राप्रपाको अवरोध भएपछि प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मको लागि स्थगित भएको छ ।
आकस्मिक समय लिएर सांसदहरूले बोलेपछि शून्य समय शुरू भएलगत्तै कांग्रेस र राप्रपाका सांसदले बैठक अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । 

बुधवार पनि सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठन गर्न कांग्रेस र राप्रपाका सांसदले माग गरेका छन् ।
००००
निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई बुधबार चुनाव चिह्न प्रदान गरेको छ ।
००००
सर्वोच्च अदालतले दीर्घकालीन महत्त्वका निर्णय नगर्न गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई अन्तरिम आदेश दिएको छ ।
अधिकारीको नियुक्ति नै गैरसंवैधानिक रहेको दाबीसहित परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधवार यस्तो आदेश दिएको हो ।
००००
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएका छन् ।

एक–चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रका आधारमा उक्त प्रदेश प्रमुख खापुङले बुधवार अधिवेशनको आह्वान गरेका हुन् ।
प्रदेशसभाका ५२ जना सदस्यले हस्ताक्षर गरेर प्रदेशसभाको विशेष अधिवेशनको आहान गरेका थिए ।
००००
चैत्र २६ गते सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ । 
आगलागी घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो समितिले मङ्गलबारदेखि घटनास्थललाई सिल गरेको छ ।
००००
ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।   उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको सार्वजनिक नतिजाअनुसार ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।  

उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । अब उनीहरुको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।  

दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।
००००
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । 
नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
००००
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा बुधबार जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा बुधवार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजनाका विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् ।
००००
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको बुधबार नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को विन्दुमा कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्