
ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा ८ नेपादली र २ भारतीय रहेका छन् ।
अवैध लागुऔषध खैरो हेरोइन १९४ दशमलव ८ ५० ग्राम, नियन्त्रित लागुऔषध ५०३ एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट १ हजार २०० ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् ।
बूढानीलकण्ठबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौंबाट भारतीय नागरिक विकास कुमार तथा सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए । उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।
यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौंको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । उनीहरूबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।
उनीहरूलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।