
सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही सहकारीमा गैरसहकारी व्यक्तिहरू प्रवेश गरेकाले बदनाम भएको बताएका छन् ।
एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई मंगलवार सुरुङ्गामा सम्बोधन गर्दै उनले तिनै गैरसहकारी व्यक्तिले सहकारी ठगेको टिप्पणी गरे ।
कतिपय सहकारी सर्वसाधरणका पैसा ठगिखाने ठाउँ बनेको पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लगाए ।
‘केही सहकारी मान्छेलाई ठगी खाने ठाउँ बनेका छन् । केहीमा भने गैरसहकारी व्यक्तिहरू पसेर बदनाम गरेर ठगेका छन् । लाखौं मान्छे लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले सहकारी समस्या समाधान गर्न एमालेका सबै तहका नेताले अगुवाइ गर्नुपर्नेमा जोड दिए ।
ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका हुन् ।
उनी मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थलहुँदै इलामका लागि हिँडेका थिए ।