
प्रदेश सरकारमा किचलो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।
काठमाडौंको गोल्फुटारस्थित कांग्रेस नेता डा. नारायणका खड्काको निवासमा बुधवार साँझ देउवा र नेपालबीच ४५ मिनेट कुराकानी भएको स्रोतले जानकारी दियो ।
‘बुधवार साँझ साढे ६ बजेदेखि सवा ७ बजेसम्म हाम्रो सभापति र समाजवादीका अध्यक्षबीच नारायण खड्काको निवासमा भेटघाट भएको थियो’, कांग्रेस स्रोतले भन्यो, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारको किचलो मात्रै होइन केन्द्रीय समीकरणमा पनि कसरी मिलेर जान सकिन्छ भन्नेबारे छलफल प्रारम्भ भएको छ ।’
सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर समीकरण बनाउने प्रयास गरेको थियो ।
तर प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई नै मुख्यमन्त्री दिने तयारी गरेपछि ब्याक भएको थियो ।
एमालेले मुख्यमन्त्रीका लागि नेकपा एसका दीर्घकाबहादुर सोडारीको नाममा सहमति जनाउन नसकिने बताएपछि नेपाल कांग्रेससँग छलफलमा जुटेका हुन् ।