३१ असार २०८३, बुधबार

कतारी राजाको नेपाल भ्रमण : सेनाको नेतृत्वमा समिति गठन, कसरी हुँदैछ सुरक्षाको प्रबन्ध ?

बैशाख १०, २०८१
काठमाडौं
कतारी राजाको नेपाल भ्रमण : सेनाको नेतृत्वमा समिति गठन, कसरी हुँदैछ सुरक्षाको प्रबन्ध ?

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलवार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।

कतारका राजा नेपालमा पहिलोपल्ट आउन लागेका हुन् ।

निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् । उनी सोल्टी होटलमा बस्ने तय भएको उच्च स्रोतले बतायो ।

उनले मंगलवार राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् ।

उनी विमानस्थलमा ओर्लिएदेखि भीभीआईपी भेटवार्ता हुँदै होटल तथा सवारी रुटसम्म सेनाले सुरक्षाको व्यवस्थापन गर्नेछ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार विभिन्न सेक्टरमा सुरक्षा प्रबन्ध मिलाउन उपसमितिहरू गठन भएका छन् ।

कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।

उनी बुधवारै साँझ स्वदेश फर्कने छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हाइप्वाइन्ट ड्युटीसँगै हेलिकप्टरबाट समेत गस्ती गर्ने सेनाको तयारी छ ।

सेनाले सुरक्षाको नेतृत्व लिए पनि ‘ब्याकअप’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू रहने छन् । सवारी रुटमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

राजकीय भ्रमण भएकाले सवारी अवधिभर सडक खाली गराइने एआईजी दीपक थापाले जानकारी दिए । ‘राजकीय भ्रमण हुँदा सेनाले नै सुरक्षाको नेतृत्व लिने चलन छ, हामीले सवारी रुटमा सेनासँगै समन्वयात्मक रूपमा सुरक्षाकर्मी खटाउँछौं’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्