
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये म्याग्दीमा सबैभन्दा बढी नोक्सानी भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ ।
डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।
डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए ।
जिल्लाको बेनी नगरपालिका लगायत मालिका,मङ्गला,रघुगङ्गा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए।
कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन् । दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए ।
डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् । 'खेतबारीमा लगाएको बाली र बँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्,' मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने ।
बँदेल, दुम्सी र बाँदर घरभित्र नै छिर्न थालेका उनले बताए। मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।
मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताइन् । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरिन् ।