
६ महिनाको अवधिमा ६ जनाको गिरोहले झापा र मोरङमा २४ वटा सहकारी लुटपाट गरेको खुलेको छ । २४ सहकारीबाट उनीहरूले झण्डै ५० लाख रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १२ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
मोरङमा पनि त्यही समूहले करिब १२ वटा सहकारी लुटेको प्रहरीको अनुमान छ । मोरङका सहकारीबाट करिब २० लाख लुटिएको प्रहरीले जनाएको छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङ ल्याएर पुनः प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर पुनः अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
प्रहरीको अनुसन्धानबाट झापा र मोरङको दुई दर्जन सहकारी लुटपाट गर्ने समूह एउटै रहेको खुलेको हो । ६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले गत शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । समूहले ‘गुगल म्याप’ सेट गरेर सहकारी पत्ता लगाउने र सर्भिलेन्स (निगरानी) गरेर चोर्ने गरेको पाइएको अनुसन्धानमा खटिएका प्हरी अधिकारी बताउँछन् ।
आरोपीहरूले राति १२ बजेदेखि २ बजेको बिचमा सहकारी फुटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले बताए । उनीहरूले मंगलबार, बिहीबार र शुक्रवार सहकारीमा चोर्न गरेको देखिएको उनले बताए । मास्क र टोपी लगाएर चोर्ने गरेको गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।
कहाँ-कहाँ भयो चोरी ?
प्रहरीका अनुसार उनीहरूको समूहले गत मंसिर २६ गते दमकस्थित काबेली साना किसान सहकारी संस्थामा चोरीको पहिलो प्रयास गरेको थियो । त्यहाँ केही फेला नपरेपछि समूहले गत पुस २६ गते मध्यरातमा झापाको हल्दीबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख रुपैयाँ चोरी गरेका थिए । दमक, हल्दिबारी हुँदै त्यसपछि जिल्लाका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरूमा श्रृङ्खलाबद्ध चोरीमा उनीहरूको संलग्नता रहेको देखिएको डीएसपी चन्दले बताए । उनीहरूले माघ १७ गते हल्दीबारी–४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्र एकै पटक चोरी गरेका थिए । नगद एक लाख २५ हजार चोरी गरेका थिए भने दूध सङ्कलन केन्द्रबाट नगद २६ हजार चोरी गरेको प्रहरीको भनाइ छ ।
चैत २१ गते झापाको गौरादह ५ मा एकै रातमा तीन वटा सहकारीबाट ६ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरे । उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार ५०० र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेका थिए ।
चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेका थिए । चैत २० गते कचनकवल गाउँपालिका–२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा चोरी गरेका थिए ।
मोरङको बेलबारी–१० नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर ३५ हजार पाँच सय रुपैयाँ चोरी भएको थियो । बेलबारी ३ सहकारी मार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो । त्यस्तै पुस १२ गते कानेपोखरी ७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट ४ लाख १४ हजार ८०१ रुपैयाँ, माघ २९ गते राति कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार ९६० रुपैयाँ, फागुन २ गते पथरीशनिश्चरे ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट चार लाख ७६ हजार १६६ रुपैयाँ चोरी भएको थियो ।
त्यसैगरी फागुन १५ गते राति लेटाङ–२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १२ लाख ८१ हजार ३० रुपैयाँ, खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपैयाँ र गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपैयाँ चोरी भएको थियो ।