
सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या आरोपमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।
गत बुधवार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रवार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।