२९ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीसम्बन्धी ठगीका ‘मास्टरमाइन्ड’ बयालकोटी– अनुसन्धान गर्दा प्रहरी नै चकित

बैशाख १८, २०८१
काठमाडौं
वैदेशिक रोजगारीसम्बन्धी ठगीका ‘मास्टरमाइन्ड’ बयालकोटी– अनुसन्धान गर्दा प्रहरी नै चकित
तस्वीरमा बयलकोटी र नेपाली

धादिङको धुनीबेशी– ४ का जीवा गौतम भनिने रमेश बयलकोटीको ठगीधन्दा देखेर प्रहरी समेत आश्चर्यचकित भएको छ ।

बुधबार पत्रकार सम्मेलनमा बयलकोटीका कर्तुत सार्वजनिक गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले भने, ‘कृषि फार्ममा काम गर्न बोलाएर विदेश पठाउने धन्दा लामै समयदेखिको रहेछ । उसले ४२२ जनाबाट ३ करोडभन्दा बढी ठगी गरेको पाइयो ।’ 

बयलकोटीले फेसबूक, ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जालमार्फत साथी बनाएर सोझासाझालाई झुक्यानमा पारी वैदेशिक रोजगारीका नाममा रकम ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अचम्मको कुरा त, बयलकोटीले आफूले खोजेका ग्राहककै नाममा बैंक खाता र कन्सल्टेन्सी कम्पनी खोलेर सोहीमार्फत कारोबार गर्दै आएका थिए । कीर्तिपुरमा बस्दै आएका बयलकोटीले कीर्तिपुरमै ललितजंग बमको नाममा कन्सल्टेन्सी दर्ता गरी सञ्चालन गर्दै आएका थिए । 

बमको नाममा भिसा प्लस प्रालि लिमिटेड कम्पनी खोलेर बयलकोटीले न्युजिल्यान्ड, बुल्गेरिया, रोमानिया र क्रोएसिया पठाउने भन्दै ठगी गर्दै आएका थिए ।

त्यति मात्रै होइन, उनले कृषि फार्ममै काम गर्न आएका लक्षिन्द्रबहादुर शाहीको बैंकमा खाता खोल्न लगाएका थिए । शाहीकै नाममा चेक काट्न लगाउँथे । 

नाम ढाँट्न खप्पिस बयलकोटीले तीन वर्षअघि नक्सालस्थित समृद्धि प्रालिमा काम गर्दा आफ्नो नाम सञ्जीव रायमाझी भनेर बताएका थिए ।

विदेश जानेहरूलाई बयलकोटीले परिचय गर्दा जीवा गौतम नै भन्ने गरेको पीडितहरूले बताएका छन् ।

‘बयलकोटीले शुरूमा कृषि फार्ममा काम गर्न भनेर बोलाउने र केही समयपछि यो काम गरेर पार लाग्दैन, विदेश पठाउने काम गरौं भन्दै कन्सल्टेन्सी दर्ता गरेको देखिन्छ,’ अनुसन्धान कार्यालयका एसएसपी भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘कन्सल्टेन्सी खोल्दा र विदेश पठाउँदा लाग्ने खर्च आफैं व्यहोर्ने भनेर आश्वासन दिएको देखिन्छ ।’ 

प्रहरीले बयलकोटीसँगै उनका अर्का पार्टनर कालिकोट छाप्रेका दर्शन नेपालीलाई पनि पक्राउ गरेको छ । 

गिरोहका अन्य सदस्य

देश अनुसार रेट

बयालकोटीले खोलेको भिसा कन्सल्टेन्सीबाट २० वटा, दर्शन नेपालीको जडिबुटीस्थित कोठाबाट एक र बयलकोटीको ललितपुर एकान्तकुनास्थित कोठाबाट ६३ वटा राहदानी गरी ८४ वटा राहदानी र १८२ जनाको रेकर्ड फाइलहरू प्रहरीले बरामद गरेको छ ।

प्रहरी कन्सल्टेन्सी पुग्दा त्यहाँ कुन देशमा जाँदा कति खर्च लाग्ने भनेर ‘रेट बूक’ नै फेला परेको थियो । न्यूजिल्यान्ड जान १६ लाख, क्रोएसिया जान १२ लाख, बुल्गेरिया जान ७ लाख र रोमानिया जान ७ लाख रुपैयाँ लाग्ने उल्लेख थियो ।

प्रहरीका अनुसार बयलकोटीले विदेश जानका लागि आउने सेवाग्रहीलाई शुरूमा ५० हजार, अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख रुपैयाँ लाग्ने भन्दै ४ सय २२ जनाबाट ३ करोडभन्दा बढी रकम उठाएको अनुसन्धानबाट खुलेको छ । 

एसएसपी भट्टराईले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी ठगीमा बयलकोटी मास्टरमाइन्ड नै देखिए । उनले अझै धेरैलाई ठगी गरेको आशंका छ । थप अनुसन्धान गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्