०३ असार २०८३, बुधबार

अक्टोबर क्रान्ति शताब्दी बर्ष मनाईदै, वाम नागरिकका तर्फबाट अपिल !

कात्तिक २०, २०७४
अक्टोबर क्रान्ति शताब्दी बर्ष मनाईदै, वाम नागरिकका तर्फबाट अपिल !
saharad paudel
काठमाडौं, २९ असोज-एक सय वर्ष अघि अक्टोबर महिनामा रुसमा भएको एक महत्वपूर्ण क्रान्तिको सम्झनामा नेपालमा यो वर्ष सन् २०१७ लाई अक्टोबर क्रान्ति शताब्दी बर्षको रुपमा मनाइने भएको छ । हाल नेपालको सत्ता र सदनप्रति असन्तुष्ट वाम नागरिकहरुले गत शनिबार राजधानीमा एक भेला आयोजना गरी यो वर्षलाई शताब्दी वर्षका रुपमा मनाउने घोषणा गरेका हुन् ।

रुसमा सन् १९१७ को अक्टोबर २५ मा सम्पन्न सशस्त्र क्रान्तिमार्फत त्यहाँको तत्कालीन शोषक राज्यसत्तालाई च्यूत गरी सत्ता कब्जा गरी सर्वहारा जनताको पक्षमा सत्ता आएको सम्झनामा अक्टोबर क्रान्तिलाई संसारभर चिनिन्छ । सोही क्रान्तिको सम्झनामा अक्टोबर क्रान्ति शतबार्षिकी समारोह नागरिक समुह गठन गरी नेपालमा पनि शतबार्षिकी मनाउन लागिएको संयोजन समितिले जनाएको छ ।  

शत बार्षिकीको अवसरमा सप्तगण्डकी क्याम्पस, चितवनमा कार्तिक ९ गते एक उत्सव मनाइने शतवार्षिकी संयोजन समितिले जनाएको छ । यसैगरी दाङमा अक्टोबर क्रान्ति शतावार्षिकी मनाउनको लागि असोज ३१ गते भेलाको आयोजना गरिने बताइएको छ । शदाब्दी वर्ष मनाउन अक्टोबर क्रान्ति शतबार्षिकी समारोह नागरिक समुहले अपिल समेत जारी गरेको छ ।

अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सबको उपलक्ष्यमा अपिल !
अक्टोबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड (पछिको लेनिनग्राड) सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई. १९१७ को अक्टोबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ ।

अक्टोबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई। १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टोबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।

रुसको सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्दै शोषित पीडित एवं गरीखाने वर्गले कम्युनिष्ट क्रान्ति सम्पन्न गरेको सय वर्ष पुगेको छ । यस युगान्तकारी कदमको सतवार्षिकीको अवसरमा यतिखेर संसारभरिका कम्युनिष्ट मात्रै होइन, शासन, शोषण र उत्पिडनबाट मुक्ति चहाने सबै न्यायप्रेमी जनताहरुले अक्टोबर क्रान्तिको उपलब्धि, त्यसले मानव जीवन र सभ्यतामा पारेको प्रभाव, त्यसको महत्व र त्यसमा देखापरेका चुनौतीबारे गम्भीर विमर्शसहित विभिन्न कार्यक्रममा व्यस्त छन् ।

अक्टोबर क्रान्तिले ठगी खाने वर्गको वर्चस्व रहेको मानवद्वेषी समाज र उनीहरुको सत्ता चलेको संसारको राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा नयाँ आयाम छ । यसले ठगिखाने वर्गको स्वर्गमा भूकम्प गएको, कम्युनिष्ट क्रान्तिको आतंक मच्चिएको छ । अक्टोबर क्रान्ति शताब्दी बर्षको स्मरणमा हामी नेपाली पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयासमा छौं ।

अक्टोबर क्रान्ति संसारको युगान्तकारी क्रान्ति हो, कम्युनिष्ट क्रान्ति हो । यस युगीन क्रान्तिको विरासतमा उत्तराधिकार भने कम्युनिष्टहरुको मात्र छैन । विगतको सय वर्षमा संसार र सभ्यताको दशा र दिशा निर्देश गर्ने सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस क्रान्तिको दावानलले समाजको सम्पूर्ण वर्ग, संसारका सम्पूर्ण भूगोल, प्रत्येक कुनाको अर्थतन्त्रलाई प्रभावित पारेको छ । त्यति मात्रै होइन, यसले मानव सभ्यताले यस कालखण्डमा विकास गरेको कुनै पनि प्रविधि, सामाजिक सम्बन्ध यसरी प्रभावित पारेको छ कि शब्दमा वर्णन गर्नै नसकिने अवस्था छ । यस क्रान्तिको क्रममा निस्केका तोपका गोलाबारुदका छिर्का संसारभरि पुगेका छन्, र तिनले प्रत्येकको मनमस्तिष्कलाई छोएका छन् । यसकै प्रभावस्वरुप आजपनि मानवद्वेषी समाज नचाहीकनै, अवचेतनमै भए पनि आफूलाई परिवर्तित गर्न बाध्य भएको छ ।

रुसका जनताले असाध्यै विषम परिस्थितिमा यस युगान्तकारी क्रान्ति सम्पन्न गरेका हुन । यस युगान्तकारी क्षणमा रुसमा क्रियाशील सम्पूर्ण सोभियतहरु, सोभियतमा आबद्ध एवं आम किसान र मजदुर, साम्राज्यवादी युद्धबाट आजित रुसी सैनिकहरुको सक्रिय सहभागिता थियो । असाध्यै अविकसित भूदासहरुको मुलुकमा, चेतनाको कमीले पिछडिएका जनताहरुको देशमा, प्रथम विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरुसँगको युद्धले जर्जर भएको मुलुकमा, तत्कालीन साम्राज्यवादी शक्ति, सेना र पुँजीवादी युद्धपोतको नाकाबन्दीको बीच उनीहरुको कठपुतली सरकारविरुद्ध कम्युनिष्टहरुको नेतृत्वमा रुसका महान जनताले यो क्रान्ति सम्पन्न गरेका हुन् ।

अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि र आफ्नो बर्तमान र भविष्य आफैले बदल्ने संकल्पसहितको जुझारुपना र शौर्य प्रदर्शन गरी यस युगान्तकारी क्रान्ति सम्पन्न गरियो । यसले मानव जातिको दशा र दिशालाई पूर्ण रुपमा परिवर्तित गरी मानव सभ्यतालाई, सामरिक सन्तुलनलाई, र सम्पूर्ण मानवजातिलाई आजको अवस्थामा पुर्याशएको हो । मानवजातिले अक्टोबर क्रान्तिको युगान्तकारी उपलब्धिको निम्ति रुसी कम्युनिष्टहरुको ऋण कहिल्यै तिर्न सक्दैन । सय वर्षको अवधिमा मानवसभ्यतामा देखापरेको फड्को यसको प्रमाणको रुपमा उपस्थित छ ।

अक्टोबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्ग्विहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो । उत्पीडनकारी राज्यसत्तालाई माध्यम बनाउँदै, बर्ग, संस्कृति, जाति, नस्ल, लिङ्ग, रङ्ग र वर्णको आधारमा मानिस९मानिसबीचको कृत्रिम भेद खडा गरी द्वन्द्व सृजना गरि संसार विभाजित गर्ने परम्परागत सोचको विरुद्ध अन्तर्रा्ष्ट्रिय वर्गीय बन्धुत्व हुँदै क्रमश अन्तर्रा्ष्ट्रिय मानवीय बन्धुत्व मार्फत विभाजित सीमाहरु र सोचलाई समूल नष्ट पार्नु कम्युनिष्ट क्रान्तिको गन्तव्य हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस९मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए ।

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति ज्ञान, सूचना, सेबा, संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोबर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो । बर्गीय समाज स्थापना पछि र अक्टोबर क्रान्तिपछिको समयलाई यतिबेला संसारले दाँज्दैछ र अक्टोबर क्रान्तिको महत्वलाई जान्दैछ ।

महान अक्टोबर क्रान्ति जिन्दाबाद !
अक्टोबर क्रान्ति शतबार्षिकी समारोह नागरिक समुह

salt training

कमेन्ट गर्नुहोस्