
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठक आह्वान गरेका छन् । यही वैशाख २८ गते शुक्रबारका लागि बैठक आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको आह्वानसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक वैशाख २८ गते दिउँसो २ बजे बस्नेछ ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।