
वेस्ट इन्डिज ‘ए’सँगको टी २० सिरिजको पाँचौं खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा शनिवार दिउँसो वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।
वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ । नेपाल आजको खेलमा सान्त्वना जितको खोजीमा हुनेछ।
पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो । तर, त्यसपछिका खेलमा नेपाल क्रमश: १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको हो ।
यस सिरिजमा कप्तान रोहित पौडेलले तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो ।
शृंखलापश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै शुरूवात गर्नेछ ।
नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।