
नेपाल-भारत खुला सीमा सम्वाद समूहले दुई देशको सीमामा देखिएका गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शनिवार एक विज्ञप्ति जारी गर्दै समूहले दुई देशको राजनीतिक सम्बन्ध र उतारचढावले पौराणिक परम्परालाई प्रभावित पार्नेगरी भएका गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
'नेपाल र भारतबीच पौराणिक रामायण कालदेखि नै रोटी-बेटीको सम्बन्ध रहेको यथार्थ हामीबाट लुकेको छैन । भगवान श्री सीतारामजीको वैवाहिक सम्बन्धले दुई देशको वीरता, धार्मिक महत्त्व र गरिमा तथा सदियौंको सम्बन्धलाई प्रगाढ पार्दै आइरहेको छ', विज्ञप्तिमा भनिएको छ, 'दुई देशको राजनीतिक सम्बन्ध र उतारचढावका कारण ती सम्बन्ध र पौराणिक परम्परालाई प्रभावित गर्ने दुई देशको सीमामा देखिएको हालको केही गतिविधिहरूप्रति यस समूहको गम्भीर ध्यानाकर्षण भइरहेको छ ।'
दुवै देशका सीमा सुरक्षामा खटेका केही असंवेदनशिल सुरक्षाकर्मीको गलत गतिविधिले वैवाहिक बन्धनमा समेत कमी आएको समूहले दाबी गरेको छ ।
सुरक्षाकर्मीहरूको असंवेदनशिल गतिविधिहरू अविलम्ब बन्द गर्न पनि समूहले आग्रह गरेको छ ।
साथै समूहले आवागमनलाई निर्वाध रुपमा सहज वातावरण निर्माण गर्न दुवै देशका सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सीमामा देखिएको अवरोध र असहजता जारी रहे दबाबका कार्यक्रम गर्ने समूहले चेतावनी दिएको छ ।