नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट शिक्षकहरूको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन भएका छन् ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न सङ्गठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन भएको निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उपाध्यक्षमा चयन भएका कटवाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्ष परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका हुन् ।
अधिवेशनले एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ ।