
बागमती प्रदेश सरकारले वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत एक लाख रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
केही दिनअघि ललितपुर र रामेछापको वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर तीन जनाको मृत्यु भएको थियो ।
यस्तै, प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।