
अप्रत्यासित रूपमा सत्ताबाट बाहिरिएपछि रणनीतिक अलमलमा परेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तनका लागि पुनः एकपटक प्रयास गर्नुपर्ने मत प्रकट हुन थालेको छ ।
संसदीय दलमा सभापति शेरबहादुर देउवाको बलियो पकड छ । तर, रणनीतिक रूपमा देउवा कमजोर भएका बेला दलमा बहुमत जुटाउने प्रयासलाई तीव्रता दिनुपर्ने दबाब बढेको हो ।
संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइरालाले एकपटक दलको नेता बन्न जोडबल गर्नुपर्ने पक्षमा देखिन्छन् ।
‘१४ औं महाधिवेशनयता सभापति देउवासँग हाम्रो समूहका नेता डा. शेखर कोइराला प्रतिस्पर्धी रहँदै आउनुभएको छ । सबै विषयमा टसल नदेखिए पनि उहाँहरू दुई प्रतिस्पर्धी नै हो,’ कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘रोक्न खोज्दाखोज्दै २१ फागुनमा कांग्रेस सरकारबाट विमुख भयो । त्यसपछि पनि शेखर दाइसहितले फेरि एमालेसँग मिल्नुपर्ने गरी वार्ता अगाडि बढाउनुभएकै थियो । जसपा विभाजनले परिस्थिति अर्कोतिर पुर्याएको देखियो । त्यसैले फेरि शेखर दाइ दलमा बहुमत जुटाउनतर्फ लाग्नुपर्छ भन्ने हाम्रो मत छ ।’
२१ फागुनमा कांग्रेस सत्ताबाट बाहिरिएपछि एमाले र कांग्रेस मिल्नेगरी केही चरण वार्ता भएका थिए । तर, जसपाको पछिल्लो विभाजनपछि सभापति देउवा रणनीतिक रूपमा चुकेको देखिएको छ । यही बेला शेखरले देउवालाई दलमा हराउन सक्नेगरी बहुमतका लागि थप तागत लगाउनुपर्ने मत बलियो बन्दै गएको हो । देउवा रणनीतिकरूपमा कमजोर रहेको मौकामा ८८ सदस्यीय संसदीय दलमा बहुमत पुर्याउने प्रयत्नलाई अगाडि बढाउनुपर्ने मत अर्का एक नेताले पनि प्रकट गरे ।
‘पार्टीले चाहँदाचाहँदै पनि माओवादीसँगको गठबन्धन टिकेन । फेरि पनि एमालेसँग मिल्ने भनेर केही चरण वार्ता भयो । तर, सभापतिले पुरानै गठबन्धन ब्युँताउने प्रयास र एमालेसँग पनि छलफल गर्ने दोहोरो व्यवहार देखाएपछि उहाँको रणनीति फेल खायो,’ शेखरनिकट ती नेता भन्छन्, ‘जति छिटो कांग्रेसमा दलको नेतृत्व परिवर्तन हुन्छ, त्यति छिटो पार्टी बलियो हुँदै जान्छ । त्यसैले पनि शेखर दाइले देखिने गरी अग्रसरता लिएर पहल गर्नुपर्छ ।’

शेखर पक्षकै अर्का नेता डा. गोविन्दराज पोखरेलले पनि रणनीतिकरूपमा पार्टी नेतृत्व कमजोर देखिएकाले दलको नेता परिवर्तन आवश्यक भएको बताए ।
‘देखिने गरी शेखरले कुनै गतिविधि अगाडि बढाएको वा योजना बनाएको देखिँदैन । तर, कांग्रेसमा संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक छ भन्ने बोध धेरैलाई छ,’ पोखरेलले भने, ‘कांग्रेस यतिखेर सहकारी प्रकरणबाहेक सत्ता व्यवस्थापनको नीति र रणनीतिमा कमजोर देखिएको छ । नेतृत्वको कमजोरी देखिएका बेला शेखर दाइले आफूलाई दलको नेताका रूपमा उभ्याउने गरी तयारी गर्नुपर्छ ।’
इलाम र बझाङको चुनावमा सभापति एउटा भाषण गर्न पनि नगएकाले चुनावी परिणाम अनुकूल नआएको दाबी उनले गरे । ‘इलाममा केपी ओलीले डोहोर्याएरै सुहाङलाई जिताउनुभयो । तर, हाम्रो सभापति आफ्नै मान्छेलाई टिकट दिए पनि चुनावी प्रचारमा जानुभएन । बझाङमा त २४३ को अन्तरले मात्रै हार्ने स्थिति बन्यो,’ पोखरेल भन्छन्, ‘चुनावी मैदानमा सभापति उत्रिएको भए माहोल फरक हुन्थ्यो । नेतृत्व हस्तान्तरण हुँदैछ भन्ने देखिन्थ्यो । जित्न पनि सकिन्थ्यो ।’
अघिल्लो वर्षको पुस ६ गते भएको संसदीय दलको चुनावमा देउवाले गगन थापालाई फराकिलो अन्तरले पराजित गरेका थिए । ८९ सांसदमा देउवा ६४ मत ल्याएर विजयी भए । तर, शेखर पक्षमा ३३ हाराहारीमा सांसद भए पनि गगनले २५ मत मात्रै पाए ।
समूहको सबै सांसदको मत गगनलाई खसाउन नसक्दा रणनीतिकरूपमा शेखर कमजोर देखिएका थिए । ३४ बाट २/४ सांसद बढाउन सकेको भए शेखरलाई २/४ भोट बढाउँदा आवश्यक ४५ को संख्या पुर्याउन सहज हुने थियो । तर आफैं निकटका सांसदले भोट नदिँदा बहुमतका लागि देउवालाई काउन्टर दिने आत्मविश्वास शेखरमा नआएको अर्का एक नेता बताउँछन् ।
‘हाम्रो समूहको मत ३२ देखि ३५ जनासम्म हो । यसमा अलिकति प्रयत्न गरेको भए गगन थापा उठ्दा नै ४० हाराहारी मत पुग्न सक्थ्यो । तर, समूह भित्रैकाले किन गगनलाई मत बढाउने भनेर लाग्दा २५ भोट आयो,’ ती नेता भन्छन्, ‘संसदीय दलमा बहुमत पुर्याउन शेखर दाइमा इच्छा/चाहना नभएको होइन, तर टीमकै सबै मत अर्को नेतालाई झार्न नसक्दा गगनकै नियति हुन्छ कि भन्ने डर देखिन्छ । अघिल्लोपटक सबै सांसदले प्रयत्न गरिदिएनन् । त्यसैले शेखर दाइलाई ४५ मत पुर्याउने आत्मविश्वास नआएको हो ।’
संसदीय दलको नेता परिवर्तन हुना साथ सत्ताको नेतृत्व गर्ने अवसर आउनेमा कांग्रेसका धेरै नेता आशावादी छन् । एमालेले समेत देउवाको विकल्प खोजेको नेताहरू दाबी गर्छन् ।
शेखरको निकट भएर काम गर्दै आएका अर्का एक नेताले समूहको संख्या र तागत कति हो भन्ने नै यकिन नरहेको बताए । यति मात्रै होइन, समूहको नेताका रूपमा अहिले केही पनि पहल नलिए १५ औं महाधिवेशनका बेला सभापतिको दाबेदारीमा समेत सम्भावना कम हुने उनको तर्क छ ।
‘दलको नेता हुनुपर्छ, सभापति हुनुपर्छ भन्ने हुटहुटी राम्रो छ । तर, बैठक गर्ने, छलफल गर्ने, समूहमा हामी यति छौं भनेर प्रस्ट भएर इमान्दार प्रयास गरेको देखिँदैन,’ ती नेताले भने, ‘भिड्नुपर्ने देउवाजीसँगै नरम व्यवहार गरेपछि साथ दिन्छु भन्ने पनि अलमलमा देखिएका छन् । एटेम्ट गरेर सांसदलाई नबोलाइएपछि संख्या कति हो नै प्रस्ट भएन । १५ औं महाधिवेशनमा नेतृत्वका लागि दाबेदारीलाई बढाउन र बलियो पार्न पनि केही न केही मुभ वा सक्रियता आवश्यक छ ।’
गगनलाई भित्रीरूपमा साथ लिन नसक्ने र देउवाप्रति नरम देखिने शेखरको शैलीले पनि सांसद संख्या बढाउन नसकेको नेताहरूको टिप्पणी छ ।
‘देउवासँग असन्तुष्ट रहेका बालकृष्ण खाँण पक्षका सांसदलाई साथ लिन सक्ने वातावरण केही अगाडिसम्म बनेको थियो । तर, समूहमा को हाम्रो हो, को होइन भनेर एउटै कित्तामा उभ्याउने सामर्थ्य शेखर दाइले देखाउन सक्नुभएन,’ ती नेता भन्छन्, ‘प्रयास नै नगरेपछि शेखर दाइको इच्छा हुटहुटीमै सीमित हुन्छ कि भन्ने जोखिम छ ।’
केही समयअगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत शेखरलाई प्रधानमन्त्रीको ‘कार्ड’ फालेको चर्चा थियो । कोशीमा एमाले र शेखर समूह मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि उनलाई एमालेले अपमान गरेको कांग्रेसका एक नेता बताउँछन् ।
‘शेखरलाई प्रधानमन्त्रीको कार्ड फालेर केपी ओलीले कांग्रेसमा खेल्ने चातुर्यता देखाएका छन्, किनकि कांग्रेसमा खेल्न सक्दा र विग्रह ल्याउन सक्दा आफू बलियो बनिने दाउ ओलीले हेरेका छन् । पार्टी फोड्नेदेखि कांग्रेसमा विग्रह ल्याउनेसम्म उनको तयारी हो,’ ती नेता भन्छन्, ‘पूर्वमा शेखरसँग मिल्न खोजे पनि एमालेले विश्वासको मत दिएन । अहिले पनि शेखरकै केदार कार्कीलाई धकेल्ने काम एमालेले गरेको छ । यसैले ओलीको कार्ड उचित छैन भन्ने बुझ्न कठिन पर्ने देखिँदैन ।’