३० जेठ २०८३, शनिबार
उद्योग–व्यवसायमा पुस्तान्तरण

विराटनगरका उद्योगको नेतृत्वपंक्तिमा युवाः विदेश पढेर आए, पारिवारिक विरासत धान्दै

बैशाख २९, २०८१
काठमाडौं
विराटनगरका उद्योगको नेतृत्वपंक्तिमा युवाः विदेश पढेर आए, पारिवारिक विरासत धान्दै

नेपालमा अवसर नभएको भन्दै अधिकांश युवा विदेशिइरहेका छन् । राजनीतिक अस्थिरता व्यापार–व्यवसायका लागि मुख्य अवरोध वा चुनौती ठानेर विदेश पलायन हुने युवाको संख्या पनि उत्तिकै छ । औद्योगिक नगरी विराटनगरका केही युवा भने पारिवारिक विरासत धान्दै नयाँ संकल्पसहित उद्योग र व्यापार–व्यवसाय क्षेत्रलाई चलायमान बनाइरहेका छन् । तीमध्ये अधिकांश विदेश पढेर फर्किएका युवा छन् । अब जानौं उनीहरूबारेः  

प्रतीक राउत

null

विगत ४ दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका जेठा छोरा हुन् प्रतीक । भारतको बेंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबीए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुवाको उद्यमशीलतामा सँगसँगै छन् । 

अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका ३३ वर्षीय प्रतीक भन्छन्, ‘सानै उमेरदेखि बुवाले मलाई स्वदेशमै केही गर्न भन्दै प्रेरित गर्नुहुन्थ्यो । शिक्षा जहाँको लिए पनि नेपालमै उद्यम–व्यवसाय गर्न सुझाउनुहुन्थ्यो । यसैले म त्यहाँका अनेक सुविधा छोडेर यहाँ आएको हुँ ।’

प्रतीकको विचारमा नेपालमा व्यवसाय गर्नु भनेको चुनौती र अवसरको खेल हो । यसै कुरालाई मध्यनजर गरेर प्रतीक हाल काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् ।

५०० भन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रनिश । सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् । 

एकता गोल्छा

null

एकता गोल्छा राजनीतिक घराना गोल्छा परिवार (गोल्छा अर्गनाइजेशन)का राजकुमार गोल्छाकी छोरी हुन् । गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिंगो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यापारमै समर्पित छ । 

त्यसमध्ये जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमारकी छोरी एकता बेलायतको लन्डनस्थित अक्सफोर्ड युनिभर्सिटीबाट मास्टर्स सकेर आफ्ना बुवालाई सघाउन स्वदेश फर्किएकी हुन् ।

एकतासँग अहिले , ‘डेल्टा टेक’ नामक आफ्नै सफ्टवेयर कम्पनी छ । नेपालमा उद्यमशीलताका लागि अवसरै–अवसर देख्ने एकताको एउटा सिद्धान्त छ, ‘नेपालमा केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैनन् ।’

विदेशमै उद्योग–व्यवसाय चलाउन सक्ने खुबी बोकेकी उनी नेपालमै आफ्नो पढाइ र अनुभवअनुकूल कम्पनी खोल्ने योजना बुनेर सन् २०१६ मा स्वदेश फर्किएकी थिइन् । एकताले २ वर्षजति बुवाको उद्यमशीलतामा हातेमालो गरेकी थिइन् ।

उमेरले ३५ वर्ष पुगेकी एकताले नेपालमा व्यावसायिक हुन बाँकी र जोखिमपूर्ण क्षेत्र मानिने सूचना प्रविधि (आईटी) क्षेत्रमा हात हालेकी छन् । उनले सन् २०१६ शुरू गरेको डेल्टा–टेक आईटी कम्पनीसँग अहिले नेपालसँगै भारत, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया र अफ्रिकाका देशका नामी उद्योगहरू जोडिएका छन्, जसले उनलाई आफ्नै पहिचानसहित सफलताउन्मुख गराइरहेका छन् । २० जनाभन्दा बढी त उनकै कम्पनीबाट रोजगार भएका छन् । 

सगुन बोहोरा

null

प्राथमिक पढाइसँगै उच्च शिक्षा पनि विदेशमा सकेका सगुन बोहोरा विदेशको सुविधामा पल्किएनन् । उमेरले २८ पुगेका सगुनले भारतको मुम्बईस्थित मिठीबाई युनिभर्सिटीमा बीएमएस सकेपछि लन्डन पुगेर मास्टर्स गरेका छन् । लिडरसिपमा २८ मध्ये छानिएका २ विद्यार्थीमा सगुन १ थिए ।

सोही उत्प्रेरणा लिएर खटिएका सगुनले बोहोरा ग्रुपको नेतृत्वमा आफ्ना बुवा अभिनाश बोहोरालाई सघाउन थालेको ४ वर्ष भयो । यो समयमा उनले धेर–थोर ज्ञान हासिल गरेका छन् । उनको चिन्ता युवा जनशक्ति विदेश पलायन हुनुमा छ । सगुन भन्छन्, ‘देशमा रोजगारी सिर्जना गर्न हामी तल्लिन छौं । तथापि, हाम्रो मात्र जोश जाँगरले हुँदैन, युवा जनशक्ति यहीँ अड्याउन अरू निकाय गम्भीर हुनैपर्छ ।’

खाद्यान्न उद्योग, कृषि उद्यम, निर्यात व्यापार र कन्ट्रक्सनतिर मात्र नभएर वित्तीय क्षेत्रमा पनि लगानी गरेको बोहोरा ग्रुपले हालै अन्तर्राष्ट्रिय बजारमा आफ्नो सफ्टवेयर बिक्री गर्ने काम थालेको छ । नेपालमा बनेको उक्त सफ्टवेयर अमेरिका, अस्ट्रेलिया, क्यानडाका केही कम्पनीले चलाउन थालेको सगुन बताउँछन् । 

करिब ८५० जना कर्मचारी र सयौं मजदुर बोहोरा ग्रुपमा जोडिएका छन् । जसका कारण सबै क्षेत्रमा सफलता हासिल गर्न सफल भएको भन्दै उनी श्रेय दिन्छन् ।

डेनिस कार्की

null

स्वाथ्य क्षेत्रमा लगानी गरेर नागरिकमा स्वास्थ्यको पहुँच बढाउनमा केन्द्रित एउटा नाम हो, डेनिस कार्की । वरिष्ठ स्त्री तथा तथा प्रसूति रोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीका जेठा छोरा डेनिसले हालै मात्र मोरङको बूढीगंगामा ४०० करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएका छन् ।

अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेका ३६ वर्षीय डेनिसले विराट टिचिङ हस्पिटल र विराटनगर नर्सिङ होम गरी दुई अस्पतालको नेतृत्व गरिरहेका छन् । त्यसबाहेक स्वास्थ्य सामग्री उत्पादन गर्ने विराट हेल्थ केयर पनि चलाइरहेका उनी भन्छन्, ‘विदेश पढेर पनि उताको लोभ लागेन । बुवा यहाँका नागरिकलाई स्वस्थ बनाउन कम्मर कसेर लाग्नुभयो । त्यही लयमा हामी छौं । यसमा खुसी लाग्छ ।’

डेनिसले सन् २०१३ मा विदेशबाट नेपाल फर्किएर बुवाको काममा हात अगाडि सारेका थिए । डेनिसमात्र नभएर उनका भाइ–बहिनी पनि नागरिकलाई सुलभ स्वास्थ्यसँग जोड्न लागिपरेका छन् । करिब २ हजार जनालाई रोजगारी दिन पाएकोमा डेनिस गर्व महसुस गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्