२८ जेठ २०८३, बिहीबार

फोहर सङ्कलनमा पहिलो भयो नेपाली सेना

बैशाख २९, २०८१
काठमाडौं
फोहर सङ्कलनमा पहिलो भयो नेपाली सेना

दमौली– तनहुँको दमौलीस्थित बुल्दीखोलामा शनिबार आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले  एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । 

युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० लाई पुरस्कृत गरियो । 
    
व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो । त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ । 

प्रथम भएको समूहलाई नगद रु १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । 

विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ  र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरूलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरियो । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।

बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिए । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ । 

बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको उनले बताए । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उको भनाइ छ । उनले भने, ‘भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।’

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।’

उनकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।’

व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गरे । –रासस

salt training

कमेन्ट गर्नुहोस्