३० जेठ २०८३, शनिबार
सरकार फेरबदल

मधेशमा सत्ता परिवर्तनको खेल : नेतृत्वमा लोसपा र जनमतको पनि दाबी

बैशाख ३०, २०८१
काठमाडौं
मधेशमा सत्ता परिवर्तनको खेल : नेतृत्वमा लोसपा र जनमतको पनि दाबी

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार बनाउन ४ दलबीच छलफल भएको छ ।

आइतवार दिउँसो जनकपुरमा एक नेताको निवासमा नयाँ सरकार बनाउने विषयमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच छलफल भएको हो ।

नेकपा एमाले र माओवादीका मन्त्रीहरूले राजीनामा र समर्थन फिर्ता लिनु अगावै उनीहरूबीच नयाँ सरकारका लागि छलफल भएको हो ।

बैठकमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, सांसद हरिनारायण महतो, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा माओवादी केन्द्रका सांसद उपेन्द्र महतो, रानी शर्मालगायतका नेताहरू सहभागी थिए ।

छलफलमा चारै दलले सरकारको नेतृत्वमा दाबी गरे पनि सरकार नेतृत्वको विषयमा कुनै सहमति नभएको लोसपाकी सांसद रानी शर्माले बताइन् ।

'नेकपा एमाले संसद्को ठूलो दलको हैसियतले नेतृत्व दाबी गरेको थियो । माओवादीले पनि हामी लामो समयदेखि नेतृत्वका लागि प्रयासरत रहेकाले पाउनुपर्ने दाबी गर्‍यो', शर्माले लोकान्तरसँग भनिन्, 'जनमतले पनि आफूहरू स्वतः पाउनुपर्ने भनेको थियो । हामी लोसपा पनि मधेशवादी दल भएकाले नेतृत्वमा दाबी गरेका थियौं ।'

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूहरू सकारात्मक रहे पनि केही सहमति नभएको उनले बताइन् ।

मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन् । सरकार गठन गर्नका लागि ५४ संख्या आवश्यक पर्छ ।

नेकपा एमालेको सभामुखसहित २५, नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सिट छ ।

त्यसै गरी नेकपा एकीकृत समाजवादीको ७, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रमशः १/१ सिट छ ।

नेकपा एमालेको २४, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र लोसपाको ९ गरी ५५ सिट पुग्छ ।

फुटेको जसपामा कति सांसद रहने भन्ने कुरा यकिन हुन सकेको छैन । तर पछि जसपालाई पनि सरकारमा सामेल गर्ने तयारी दलहरूको छ ।

salt training

कमेन्ट गर्नुहोस्