
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएलगत्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।
जसपाले समर्थन फिर्ता लिए प्रचण्डले संसद्मा चौथोपटक विश्वासको मत लिनुपर्नेछ ।
जसपा सांसद प्रकाश अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी भएको जानकारी दिए ।
‘हाम्रा मन्त्रीहरूले राजीनामा दिइसक्नुभएको छ, सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्छौं,’ सांसद अधिकारीले लोकान्तरसँग भने ।
प्रचण्ड सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री रहेका उपेन्द्र तथा वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले सोमबार राजीनामा दिएका थिए । उपेन्द्रनिकट जसपाका अर्का नेताले पनि सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता हुने बताए ।
संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रचण्डले पछिल्लोपटक २०८० फागुन ३० गते विश्वासको मत लिएका थिए ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनमा प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै एमालेले समर्थन फिर्ता लिएपछि २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
एक वर्षपछि कांग्रेसँगको समीकरण बदलेर एमाले–रास्वपासँग समीकरण बनाएसँगै फागुन ३० मा प्रचण्डले तेस्रोपटक विश्वासको मत लिएका थिए ।
पछिल्लोपटक प्रचण्डलाई प्रतिनिधि सभाका १५७ सांसदको समर्थन थियो । फागुन ३० मा समर्थन गरेका सबैले समर्थन गरे भने प्रचण्डसँग १५२ भोट बाँकी रहन्छ ।
उपेन्द्रको पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता गरेमा प्रचण्डले जेठ मसान्तअगावै विश्वासको मत लिनुपर्नेछ । सत्तारुढ दलकै इसारामा पार्टी विभाजन गराइएको भन्दै उपेन्द्र रुष्ट थिए ।
उनी अमेरिका भ्रमणमा रहेको समयमा अशोक राईको नेतृत्वमा ७ सांसदले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए ।