३२ असार २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने

बैशाख ३१, २०८१
काठमाडौं
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए । 

उनका अनुसार कांग्रेसले संसदीय छानबिन समितिलाई नै बटमलाइन बनाउने भएको छ । ‘सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको मागमा हामी अडिग छौं । हाम्रो बटमलाइन नै यही हो,’ महतले लोकान्तरसँग भने, ‘छानबिन समिति नबने भोलि (मंगलबार) बस्ने बैठक पनि अवरुद्ध गर्छौ ।’

समिति गठन नभए राष्ट्रपतिलाई नीति कार्यक्रम प्रस्तुत गर्न नदिने महतले बताए । ‘हाम्रो मुख्य माग नै छानबिन समिति गठनको हो,’ महतले भने, ‘समिति गठन नहुँदासम्म नीति कार्यक्रम पनि प्रस्तुत गर्न दिँदैनौं ।’ मंगलबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सोमवारका लागि बोलाइएको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेर कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरूले छलफल गरेका थिए । मंगलबार प्रतिनिधिसभा बैठक बस्नुअगाडि नै कांग्रेसले कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले निरन्तर अवरोध गरेपछि प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले समेत आइतबार कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति गठन गर्न सकारात्मक बनेको दाबी कांग्रेसले गरेको थियो । 

प्रधानमन्त्रीले पनि सोमबार साँझसम्म केही न केही सहमति जुट्ने १ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने माहोल बन्ने दाबी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्