३० जेठ २०८३, शनिबार

स्लोभाकियाका प्रधानमन्त्रीमाथि भएको आक्रमणप्रति मोदीको प्रतिक्रिया– कायरतापूर्ण कार्य

जेठ ३, २०८१
काठमाडौं
स्लोभाकियाका प्रधानमन्त्रीमाथि भएको आक्रमणप्रति मोदीको प्रतिक्रिया– कायरतापूर्ण कार्य

नयाँ दिल्ली–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ,’ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भने । 

स्लोभाकियाका चौथो पटक प्रधानमन्त्री रहेका फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते भएको स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
 
प्रधानमन्त्री फिको मानिसहरूलाई भेट्न निस्किँदा घटनास्थलमा गोली प्रहार गरिएको थियो भने आरोपित आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरिएको थियो र उक्त क्षेत्र खाली गराइएको थियो ।
 
प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री फिको उनलाई स्वागत गर्ने मानिसहरूलाई भेट्न बाहिर आएपछि गोलीको आवाज सुनिएको थियो । त्यसपछि फिकोलाई रगतमा लतपतिएको अवस्थामा भुइँमा लडेको पाइएको थियो ।
 
यो घटना ह्यान्डलोभामा भएको सरकारी बैठकपछि भएको हो र घटनापश्चात प्रधानमन्त्री फिकोलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो ।
 
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले घटनाको बारेमा सुनेर आफू ‘स्तब्ध’ भएको बताए । ‘यो भयानक समाचार सुनेर स्तब्ध भएँ । हामी प्रधानमन्त्री फिको र उहाँको परिवारको साथमा छौँ,’ सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सुनकले लेखे ।  

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले स्लोभाकियाका प्रधानमन्त्रीविरुद्ध हिंसाको निन्दा गरेका छन् । ‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको आक्रमण भयावह छ । हामी हाम्रो छिमेकी साझेदार राज्यको सरकारका प्रमुखविरुद्धको हिंसाको कडा निन्दा गर्दछौँ,’ उनले भनेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्