
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाइसकेको जानकारी दिए ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । सोहीअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
जसपा नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।