
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने तयारीमा जुटेको कार्यदलका आफ्ना सदस्यसँग प्रमुख प्रतिपक्षी दल कांग्रेस छलफलमा जुटेको छ ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसले छलफलका लागि आफ्नोतर्फबाट सदस्य रहेका जीवन परियारलाई छलफलका लागि बोलाएको हो ।
‘सहकारी प्रकरणका विषयमा छानबिन समिति बनाउने विषयमा दलबीच सहमति भइसकेको छ । तर यसको टीओआर के हुने भन्नेमा अझै प्रष्ट सहमति भइसकेको छैन । हामी सहकारी प्रकरणको छानबिनमा रवि लामिछानेको विषय कहीँ न कहीँ उल्लेख हुनुपर्छ भन्नेमा छौं’, कांग्रेस स्रोतले भन्यो, ‘सत्ता पक्ष रवि लामिछाने जोडिएको सहकारीको छानबिनको पक्षमा छ । तर हामी रविको नाम राखेर अगाडि बढ्नुपर्छ भन्नेमा छौं । यसैले कार्यदलको बैठकमा जानुभएका नेतासँग पार्टीले अहिले सिंहदरबारमा छलफल गरिरहेको छ ।’
पहिले जीवन परियार मात्रै सहभागीमा भएकोमा पछि रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा पुगेका थिए ।
रविको नाम उल्लेख गर्ने तहबाटै कुरा भएको दाबी कांग्रेस स्रोतको छ । तर सत्तारुढ दलले प्रत्यक्ष रुपमा रवि लामिछानेको नाम उल्लेख गर्न चाहेका छैनन् ।
यस अघि छानबिन समिति गठनको अडानमा रहेको कांग्रेसले विपक्षी दलहरूको समेत बैठक बोलाउँदै आइतबार गृहमन्त्री रवि लामिछानेलाई बोल्न निषेध नगर्ने निर्णय गरेको थियो ।
कार्यदलले छानबिनका समितिको टीओआर बनाएपछि मात्रै संसद बैठक राखिएको छ ।