२७ जेठ २०८३, बुधबार
रवि-गगन आमनेसामने

संसद्‌मा रवि लामिछानेको प्रतिशोधपूर्ण सम्बोधन : निशानामा गगन थापा

जेठ ६, २०८१
काठमाडौं
संसद्‌मा रवि लामिछानेको प्रतिशोधपूर्ण सम्बोधन : निशानामा गगन थापा

सहकारी ठगीमा संलग्न रहेको भन्दै आफूमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसका नेताविरुद्ध नै गृहमन्त्री रवि लामिछानेले गम्भीर आरोप लगाएका छन् ।

लामो समयदेखि संसद्‌मा बोल्न नपाएको भन्दै गुनासो गर्दै आइरहेका रविले आफूमाथि लागेका विषयमा जवाफभन्दा पनि कांग्रेस नेतामाथि नै आरोप थोपरे ।

कांग्रेसभित्र पनि महामन्त्री गगन थापाप्रति प्रतिशोध साँधेर उनले सम्बोधन गरे ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अफर गरेकोदेखि महामन्त्री थापाले बाख्रापालनमा घोटाला गरेको, देउवा पत्नी आरजुले कैलालीको जग्गामा चलखेल गरेकोमा पनि छानबिन हुनुपर्ने उनले बताए ।

यतिमात्रै नभएर रातो पासपोर्ट काण्डमा धनराज गुरुङमाथि र रोलेक्स घडीमा नेता रामहरि खतिवडासम्मलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनले बताए ।​

सञ्चारमाध्यममा समाचार आएकै आधारमा व्यक्ति केन्द्रित छानबिन समिति बनाउने हो भने यसरी समाचार आएका कांग्रेसका थुप्रै नेतामाथि छानबिन गर्नुपर्ने माग उनले गरे । 

‘गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?, हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’, रविले प्रश्न गर्दै भने, ‘राति प्रधानमन्त्रीका लागि गरेको अफर अस्विकार नगरेपछि भोलिपल्ट सदन अवरुद्ध गरेको होइन ?, यसको जवाफ कांग्रेसका सभापति शेरबहादुर देउवाले नै दिए हुन्थ्यो ।’

कांग्रेसबाट आफूलाई डेढ वर्ष प्रधानमन्त्री बन्न अफर आएको दाबीसमेत उनले गरेका छन् । 

तर लामिछानेले कांग्रेस महामन्त्री थापामाथि सबैभन्दा बढी लाञ्छना लगाउने र आक्रोश पोखेका छन् । ‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लगाउनेलाई पनि कारबाही गर्नुपर्छ', लामिछानेले भने, ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ, देशको मन्त्री होस् या पार्टीको महामन्त्री ।’​

नुवाकोटमा बाख्रापालन र काठमाडौंमा मासु पसल सञ्चालन गर्दासमेत थापाले आर्थिक अनियमितता गरेकोमा छानबिन गर्नुपर्ने आशय लामिछानेको थियो ।

थापाको नाम नलिई लामिछानेले यी विषयमा पनि व्यक्ति केन्द्रित छानबिन गर्नुपर्ने बताएका हुन् । 

नयाँ दल र युवालाई अघि सारेको रास्वपामाथि कांग्रेसले राजनीतिक दमन र राजनीति गरेको आरोपसमेत उनले लगाए । आफूमाथि व्यक्ति केन्द्रित अनुसन्धान गर्ने भए कांग्रेसका विवादित नेताहरू  पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ थियो ।

आफू संसदीय छानबिन समितिबाट नभागेको पनि लामिछानेको दाबी थियो ।

‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ', रविले भने, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोड्नुपर्छ तयार छु ।’

आफूले नबिराएको भन्दै व्यक्ति केन्द्रित समिति भने मान्य नहुने चेतावनी उनले दिए । व्यक्तिको मानमर्दन गर्ने, गाली गर्ने विषय आफूलाई मान्य नहुने उनले बताए ।  

‘प्रमुख दलबीच सहमति हुन्छ भने संसदीय बनाउनुस् तयार छु । तर निश्चित विधिमा टेकेर हुनुपर्छ । सस्तो रुपमा बनाउनु हुँदैन', रविले भने, ‘तर समाचार आएको भरमा नाम तोकेर व्यक्ति केन्द्रित समिति बनाउने हो ? लोकतन्त्रको लामो यात्रा गरेका दलले तय गरून् ।’

रविले बाँसबारी, बालमन्दिर मिलाएको भन्दै अब टीकापुरको मुद्दा मिलाउने दाबी पनि गरे ।

​‘कतिपयले मिडियालाई मिलाउन भन्छन् तर म जनताको अस्पताल र विद्यालय मिलाउन आएको हुुँ । नमिलेका कानूनका धारा मिलाउन आएको हुँ’, रविले भने, 'अब रोकिएका फाइललाई अघि बढाउन आएको हुँ, मिडियालाई मिलाउन आएको होइन । मैले बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ, टीकापुर मिलाउँछु, तर मिडिया मिलाउन सक्दिनँ ।’

salt training

कमेन्ट गर्नुहोस्