
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ । मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।
मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।
थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोश्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान ५–५ तथा एथलेटिक्समा समान ४–४ पुरुष÷महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।
जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।
सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धीको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।