
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएपछि विभागले पनि प्रतिकारको चेतावनी दिएको छ ।
चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदुषण बढेको कारण देखाउँदै शनिवार महानगरपालिकाले विरोधस्वरुप विभागअगाडि फोहोर फालिदिएको थियो ।
त्यसको जवाफमा एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’
विज्ञप्तिमा मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको उल्लेख छ ।
‘काठमाडौँ जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा शनिवार न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको आरोप लगाइएको छ । बालेनले संघीय सरकारविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् ।
००००
राप्रपाको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको बैठकमा लिङ्देनले पार्टीभित्रको विवाद मिलाउन नसकेको भन्दै आलोचना भएको हो ।
शुक्रबारको बैठकमा महामन्त्री धवलशमशेर राणासहितका केन्द्रीय सदस्यले अध्यक्ष लिङ्देनले आफ्नो राजनीतिक कार्यपत्र पढ्ने बेला उठेर विरोध गरेकामा शनिबार बोल्ने केन्द्रीय सदस्यले पनि अध्यक्षको कार्यशैलीको विरोध गरेका हुन् । विशेषगरी ठाकुर मोहन श्रेष्ठ कुटपिटको घटनापछि राप्रपाको विवाद थप बढेको थियो ।
लिङ्देनले यो प्रकरणमा पार्टीका तीन नेतालाई निलम्बन गरेपछि विवाद बढेको हो। एक पक्षले प्रहरीले समेत मुद्दा नचल्ने निष्कर्ष निकालेको अवस्थामा पार्टीले निलम्बन गर्नुको औचित्य नभएको बताउँदै आएको छ । सोहीअनुसार बैठकमा पनि पार्टीभित्रको विवाद मिलाउँदै एकताबद्ध बनाएर लैजानका लागि नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिइएको नेताहरुले बताएका छन् ।
००००
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन ।
संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाइसकेका छन् । विश्वासको मत पाएलगत्तै एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन नसकेका हुन् ।
मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्तासाझेदार दलले सहयोग नगरेको बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चाँडै हट्ने बताएका छन् । नेकपा एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।
००००
सहकारी ठगीबारे संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताहरूको बैठक यतिकै टरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि शनिबार साँझ बैठक बस्न नसकेको हो ।
मन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता बसेर सहमति जुटाउने सहमति भएको छ ।
००००
नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
००००
सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।