
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा चारवटा गाडी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे भएको दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अन्दाजी १६/१७ वर्षका किशोर छन् । उनको पहिचान खुलेको छैन ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । घाइतेको आधारभूत अस्पताल कुरिनटार र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले बताए ।
काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।
दुर्घटनालगत्तै बाटो दुवैतर्फ अवरोध भएको थियो । तर, अहिले भने बाटो खुलिसकेको प्रहरीले जनाएको छ ।