
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले चीनको सीमातर्फ गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।
योसँगै चीनतर्फ बीओपीको संख्या १० वटा पुगेको एपीएफले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बीओपी सदरमुकाम गोरखा बजारबाट करिब १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।
नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बीओपीले विपद्जन्य घटनाहरू जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानी लगायत कार्यहरू गर्नेछ ।

समुन्द्री सतहतबाट करिब ३ हजार ८ सय ७५ मिटरको उचाइमा स्थापना भएको बीओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुइला रहेको छ ।
यसअघि सशस्त्रले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, सङ्खुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित ९ ठाउँमा बीओपी स्थापना गरिसकेको छ ।
हाल भारतको सिमानातर्फ २ सय ४४ र चीनको सिमानातर्फ १० गरी बीओपीको संख्या २ सय ५४ वटा पुगेको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
