
सरकारले विद्युतीय सवारी साधन (ईभी)को करको दर हेरफेर गरेको छ । सबै साधनमा भन्सार महसुल वृद्धि भएको छ भने केहीको अन्तःशुल्क कम गरिएको छ ।
मंगलवार अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आर्थिक विधेयकमा विद्युतीय सवारीमा लाग्ने भन्सार र अन्तःशुल्क हेरफेर गरिएको हो ।
हेरफेर गरिएको करको दरअनुसार सरकारले शून्यदेखि ५० किलोवाट ब्याट्रीबाट चल्ने विद्युतीय साधनको भन्सारमा ५ प्रतिशत बढोत्तरी गरेको छ भने अन्तशुल्क पनि ५ प्रतिशत नै वृद्धि गरेको छ ।
यसअघि यस्तो विद्युतीय साधनमा अन्तशुल्क लाग्ने गरेको थिएन ।
त्यस्तै ५१ देखि १०० किलोवाटसम्मको विद्युतीय सवारीमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई वृद्धि गरेर २० प्रतिशत पुर्याइएको छ भने १० प्रतिशत अन्तःशुल्कलाई वृद्धि गरेर १५ प्रतिशत बनाइएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक विधेयकमा १०१ किलोवाटदेखि २ सय किलोवाटसम्मको विद्युतीय साधनमा अन्तशुल्कमा परिमार्जन गरिएको छैन भने भन्सार शुल्क २० प्रतिशतबाट वृद्धि गरेर ३० प्रतिशत पुर्याइएको छ ।
२०१ देखि ३०० किलोवाटसम्मका साधनमा भने भन्सार महसुल ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याइएको छ भने अन्तःशुल्क भने १० प्रतिशत कम गरेर ३५ प्रतिशतमा झारिएको छ ।
नेपालमा निकै कम मात्रामा आयात हुने ३०१ किलोवाटभन्दा माथिका सवारी साधनमा भन्सार २० प्रतिशतले बढाएर ८० प्रतिशत कायम गरिएको छ भने ६० प्रतिशत लाग्दै आएको अन्तशुल्क भने १० प्रतिशतले कम गरेर ५० प्रतिशत कायम गरिएको छ ।