२७ असार २०८३, शनिबार

हामीले सक्दो प्रयास गर्दा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन– पारस

जेठ १७, २०८१
काठमाडौं
हामीले सक्दो प्रयास गर्दा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन– पारस
फाइल तस्वीर ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल सरकार, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट पहल हुँदासमेत सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा (प्रवेशाज्ञा) नदिएको बताएका छन् ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपको भिसाका लागि क्यानले सक्दो प्रयास गरेको स्पष्ट पारेका छन् ।

‘अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागिताका लागि सन्दीपको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्,क्यान साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदासमेत अमेरिकी दूतावासले उनलाई विश्वकप खेल्नका लागि यात्रा भिसा दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौं,’ विज्ञप्तिमा उनले भनेका छन् ।

null 

अमेरिकाले क्रिकेटर सन्दीपलाई टी–२० विश्वकप खेल्न जानलाई भिसा दिन फेरि अस्वीकार गरेको हो ।

सन्दीपलाई बिहीबार अन्तर्वार्ताका लागि बोलाए पनि अमेरिकी दूतावासले भिसा दिन भने फेरि अस्वीकार गरेको थियो । 

निलम्बन फुकुवा भएपछि उनले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता पनि दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो ।

त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए । तर त्यो पहल सफल हुन सकेन । 

यता अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै सन्दीपले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो ।

आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेलिरहेको छ । 

अब नेपालका प्रमुख बलर सन्दीपले भने विश्वकप गुमाउने सम्भावना लगभग सकिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्