
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेशस्तरीय दुईदिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुननसकेको बताए । उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए ।
प्रविधिको विकासले सबैका हातहातमा मोबाइल हुँदा पुस्तकालयमा पुगेर पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेकाले अब पुस्तकालयलाई प्रविधियुक्त बनाउन लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत एवं सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले प्रदेशमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माण गर्न आफू सधैँ सक्रिय रहेको बताउँदै मन्त्री थापाले शैक्षिक संस्थामा सञ्चालित पुस्तकालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।