
हुण्डीको आशंकामा सशस्त्र प्रहरी बलले सुनसरीबाट १ करोड १ लाख रुपैयाँ नगद बरामद गरेको छ ।
हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) वसन्तपुरको चेक प्वाइन्ट टोलीले शनिबार घुस्की नाकाबाट उक्त रकम बरामद गरेको हो ।
हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा त्यसभित्र बोरामा लुकाएर राखेको सो रकम बरामद भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेश थापाले जानकारी दिए ।
बरामद भएको रकममा १ हजार दरका ९ हजार ७०० थान ( ९७ लाख ) र ५०० दरको ८०० थान (४ लाख ) थान रहेको छ ।
रकमसँगै कार र त्यसका चालक सुनसरीको हरिनगर गाँउपालिका– ५ बस्ने अन्दाजी ३७ वर्षका इसा अन्सारीलाई नियन्त्रणमा लिइएको सहप्रवक्ता थापाले बताए ।
‘प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन सकेका छैनन्,’ उनले भने, ‘नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।’