
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेरै ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि शनिबार देशभरकै तापक्रम घटेको छ ।
ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ । विभागले शनिबार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम आज ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ ।
००००
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।
विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’ भनेको छ ।
००००
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ ।
जनमत पार्टीलाई मुख्यमन्त्री, एमालेलाई भौतिक पूर्वाधार, माओवादीलाई अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको हो ।
मधेशमा जनमतलाई मुख्यमन्त्री दिन सत्तारुढ सत्ता गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र यसअघि नै सहमत भएका थिए ।
शनिबार एकीकृत समाजवादी पनि सहमत भएपछि भागबण्डा मिलेको हो ।
मुख्यमन्त्रीका लागि आइतबार दाबी पेश गरिने एमाले संसदीय दलका नेता सरोज यादवले लोकान्तरलाई जानकारी दिए ।
००००
तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको शनिबार २३ वर्ष पूरा भएको छ । सोहि दिनको स्मरण गर्दै शनिबार साँझ नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गरिएको छ ।
सो कार्यक्रममा पूर्वयुवराज पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरुको समेत उपस्थित रहेको थियो । त्यसै गरि राष्टिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, सांसद दिपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईको समेत उपस्थिति रहेको थियो ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० मा जसले जसलाई हराउन सक्ने भएकाले नेपाल पनि टेस्ट राष्ट्रलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन् ।
टी–२० विश्वकपअघिको अभ्यास खेलका क्रममा शनिबार अमेरिकामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टोलीका दुईजना मात्र खेलाडी चलेमात्र पनि टी–२० मा खेल जित्न सकिने बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारमा सामेल भएका दलहरूबीच परामर्श नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तासाझेदार मध्ये सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीले सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको बताएका हुन् ।
सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर ल्याएको भए उत्कृष्ट बजेट आउने उनको भनाइ थियो ।
००००
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा शुरू गरिएको बताएका छन् ।
जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे ।