३१ असार २०८३, बुधबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

जेठ २१, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं  गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार उक्त विवादमा सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा यही जेठ २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । लामिछानेमाथि विभिन्न जिल्लामा रहेको अभियोग पत्र र जाहेरीसहित इजलासमा पेश गर्न समेत भनिएको छ ।
००००
सर्वोच्च अदालतले ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
००००
यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयु २÷४ दिन मात्रै रहेको दाबी गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ ।

सहायक प्रवक्ता गोविन्द अधिकारीका अनुसार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर २१ असारसम्म बहस नोट पेश गर्न आदेश दिएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । 
निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पारे ।
००००
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास आयोजना तथा कार्यक्रममा बजेट विनियोजनलाई उच्च प्राथमिकता दिने भएको छ ।

प्रदेशसभा आइतबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा रोजगारी, स्वरोजगारीको अवसर सिर्जना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने र बढ्दो श्रम पलायनलाई रोक्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।
००००
चितवनमा हुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको बताए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
आइतबार तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ ।

कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 
००००
सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
००००
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि राष्ट्रिय सभामा पेस गरेका छन् ।
प्रस्ताव पेस गर्दै उनले अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताए ।

अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिनुपर्ने बताएका छन् ।

संसद्लाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको उनले बताए ।आइतबार प्रतिनिधि सभाको विशेष समयमा महामन्त्री थापाले संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा गएको रकम सम्बन्धमा सहकारी र मिडियाको फाइल पल्टाउने बताए ।
००००
आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा आयोजक अमेरिकाले विजयी शुरूवात गरेको छ ।

आइबार बिहान डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो । यस्तै अर्को खेलमा वेस्ट इन्डिज विजयी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्