०३ असार २०८३, बुधबार
'ब्रेक सु'मा सुन तस्करी प्रकरण

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानः थप १० पक्राउ, २८ सय किलो सुन ल्याएको आशंका

जेठ २१, २०८१
काठमाडौं
सुन तस्करीको दोस्रो चरणको अनुसन्धानः थप १० पक्राउ, २८ सय किलो सुन ल्याएको आशंका
तस्वीरमा दावा छिरिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मोटरसाइकल/स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर सुन तस्करी गरेको घटनाको दोस्रो चरणको अनुसन्धानपछि नयाँ तथ्य उजागर भएको छ ।

प्रहरीले यही घटनामा संलग्न भएको आरोपमा थप १० जनालाई पक्राउ गरि अनुसन्धान गर्दा यो समूहले २ हजार ८ सय ३१ किलो सुन तस्करी गरेको तथ्य फेला परेको हो । 

चिनियाँ तस्कर समूहमा आबद्ध उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । दोस्रो चरणको अनुसन्धानपछि थप व्यक्तिलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्जका सुरेन्द्रमान श्रेष्ठ, भारत घर भई हाल ललितपुर बस्ने प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्र घर भई न्यूरोड बस्ने सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, सोही ठाउँका दिनेश भन्ने धिरज दिनेश वैटे, धादिङ सिद्धलेक गाउँपालिका–४ का प्रेमनाथ सेढाईं, भक्तपुर सूर्यविनायकका राजु खत्री, काभ्रेपलाञ्चोक तेमालका कान्छा लामा, चीन तिब्बतका गंगा टासी, उदयपुर त्रियुगाकी उषा खत्री निरौला र गोरखा बारपाक सुलिकोटकी सायरी विक छिन् ।

दुई साताअघि पक्राउ परेका उनीहरूको नाम प्रहरीले गोप्य राखेको थियो । पक्राउ परेकामध्ये लामा चिनियाँको निर्देशनमा काठमाडौंमा अवैध रुपमा सुन ओसारपसार गर्ने व्यक्ति रहेको सीआईबीले जनाएको छ । 

सीआईबीले पहिलो चरणको अनुसन्धान गर्दा ३ सय ६२ केजी सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । 

थप अनुसन्धान गर्दा २ हजार आठ सय ३१ केजी सुन यही समूहले नेपालमा तस्करी गरेको भेटिएको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर छुट्टै टोलीले अनुसन्धान गरिरहेको बताए । 

सुन तस्करीको पैसा कसरी विदेशमा पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको जानकारी बोगटीले दिए । 

हाल पक्राउ परेका १० जनामध्ये केहीले तस्करीको सुन बिक्री गरेर बैंकिङ प्रणालीमार्फत नै पैसा विदेश (चीनलगायत मुलुक) लगेको सीआईबीको दाबी छ । 

मोटरसाइकलको ‘ब्रेक सु’ मा लुकाएर विमानस्थलबाट सुन तस्करी आरोपमा सीआईबीले गत साउनदेखि गरेका लगातारको अनुसन्धानबाट यो तथ्य बाहिरिएको हो । तस्कर समूहले दर्जनौंपटक सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । सीआईबीले ३ सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित चिनियाँ तस्कर समूहका नाइके दावा छिरिङसहित २९ जनाविरुद्ध गत वर्ष भदौ ३१ मै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको थियो ।

तत्कालीन समयमा ब्रेक सु बरामद गरेर प्रहरी र भन्सारले ६० किलो ७१६ ग्राम सुन बरामद गरेका थिए । शुरूमा ब्रेक सुमा मात्रै केन्द्रित रहेको अनुसन्धान पछि पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मशिनसम्म पुगेको थियो । यी सामानभित्र पनि सुन लुकाएर तस्करी गरेको पाइएको थियो ।

चिनियाँ तस्करको समूहले सुन पगाल्न टोखामा टहरा बनाएको पाइएको थियो । सोह्रखुट्टे, लाजिम्पाट, बाँसबारीलगायत स्थानमा स्टोर राखेको भेटिएको थियो ।

‘विदेशबाट आयात गरिएका यी सामानको विवरण र लुकाइएका सुनको परिमाणलाई आधार बनाएर सीआईबीले हिसाब निकालेको हो,’ सीआईबीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘सुन खै भन्ने कुरा आउला, तस्करले सुन बिक्री गरेर पैसा समेत विदेश पठाइसकेको अवस्था छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्