२८ जेठ २०८३, बिहीबार

शरणार्थी शिविरको विद्यालयमा घातक आक्रमण प्रकरणः इजरायली सेनाद्वारा चार बन्धकको जीवितै उद्धार

जेठ २७, २०८१
काठमाडौं
शरणार्थी शिविरको विद्यालयमा घातक आक्रमण प्रकरणः इजरायली सेनाद्वारा चार बन्धकको जीवितै उद्धार

गाजा– गाजाबाट चारजना बन्धकलाई जीवितै उद्धार गरिएको इजरायली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बावजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको शनिवार इजरायली सेनाले जनाएको हो । 

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ ।

उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । नुसिरातको मुटुमा रहेका दुई छुट्टाछुट्टै स्थानबाट ’जटिल दिनको अपरेसन’मा रहेको सेनाले जनाएको छ । 

सेनाले दुर्लभ बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निशाना बनाइरहेको बताएको थियो ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिवार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

हमासले ‘मृतकका शव र घाइतेलाई सुरक्षित कोठामा राखिएको’ बताएको छ र ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ आरोप लगाएको छ ।

गाजाको एक अस्पतालमा बिहीवार संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा ३७ जनाको मृत्यु भएपछि इजरायलमाथि बढ्दो दबाबका बावजुद नुसिरातमा आक्रमण भएको हो ।

इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएले इजरायलले ६ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा यूएनआरडब्लूएले ‘पूर्व चेतावनीबिना’ ‘विद्यालयमा बनाइएको आश्रयस्थल’ लाई आक्रमण गरिएको बताएको छ ।

इजरायलले गाजामा हमास र उसका सहयोगीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्