दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा पनि गठबन्धनको सरकार बनेकाले काम गर्न सहज हुने बताएका छन् । दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने उनले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली गएका प्रचण्डले सोमबार दिल्लीस्थित दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै नेपालमा भएको समीकरणलाई भारतले सहजरूपमा लिने गरेको जिकिर समेत गरे ।
‘भारतमा पनि अहिले नयाँ समीकरण भयो । सन् २०१४ र २०१९ भन्दा फरक भयो । हामी केही वर्षदेखि गठबन्धनको सरकार चलाउँदै आएका छौं, समीकरण तलमाथि भए पनि । निर्वाचन प्रणालीले गर्दा अझै पनि गठबन्धन बनाएर जानुपर्ने देखिन्छ,’ नेपालको नयाँ समीकरणप्रति भारतको दृष्टिकोणबारे सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘भारतमा पनि गठबन्धनको सरकार बन्यो, त्यसले अब सहज हुन्छ । दुवैका अनुभव एकअर्काका लागि फलदायी हुन्छन् ।’
प्रचण्डले मोदीलगायत भारतीय नेताहरूसँगको भेटमा आफ्नो अघिल्लो भ्रमणमा भएका समझदारी कार्यान्वयनलाई तीव्रता दिनेबारे कुरा भएको बताए ।
पञ्चेश्वर आयोजनाको कार्यान्वयन, अरुण तेस्रो जलविद्युत् आयोजना र उर्जा व्यापारसँग सम्बन्धित विषयमा छलफल भएको उनले बताए ।
नेपालमा समीकरण बदलिए पनि छिमेक नीतिमा बदलाव नआउनेबारे भारतीय नेताहरू विश्वस्त रहेको उनले बताए ।
‘गठबन्धन बन्ने क्रममा पनि भनेको थिएँ– आन्तरिक कारणले गठबन्धन परिवर्तन भए पनि परराष्ट्र नीतिमा फरक आउँदैन । नेपालको विदेश नीतिमा फरक आउँदो रहेनछ भन्ने विश्वास भएको महसुस गरेको छु,’ प्रचण्डले भने ।
आइतवार दिल्ली गएका प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।