२९ जेठ २०८३, शुक्रबार

वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको अवैध सामान बरामद

जेठ ३०, २०८१
काठमाडौं
वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल (एपीएफ)ले पर्साको वीरगन्ज महानगरपालिका–१९ बर्वालगायतका क्षेत्रमा सञ्चालित विभिन्न गोदाममा छापा मारेको छ ।

मंगलबार राति छापा हानेर प्रहरीले ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको फौजले उक्त अवैध सामान नियन्त्रणमा लिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसमेतको उपस्थितिमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस्‌लगायतका सामान बरामद गरेको हो ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।

यस्तै सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दालसमेत बरामद भएको सहप्रवक्ता थापाले जानकारी दिए ।

यसैगरी मंगलबार राति नै सोही गुल्मले वीरगन्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस्‌ र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामानसमेत बरामद गरेको छ ।

बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्