
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन बनाउने काम सहज नभएको बताएका छन् ।
प्रदेशसभा सचिवालयले झापाको गौरादहस्थित नमूना कृषि सहकारीको भवनमा आज आयोजना गरेको ‘प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा उनले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको औँल्याए ।
कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।
पढेर मात्रै कानुन बनाउन नजानिने भएकाले कानुन बनाउने काम सबैभन्दा कठिन भएको मुख्यमन्त्री कार्कीको धारणा छ ।
उनले कानुन बनाएपछि राजस्व उठाउनसमेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई विकास निर्माणमा बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे ।